छाला हाम्रो शरीरको सबै भन्दा ठुलो अंग हो । यसको प्रमुख उदेश्य भनेको बाहिरी प्रतिकुल वातावरण तथा हानिकारक त्वत्तबाट शरीरलाई बचाउनु हो । यसमा पनि शरीरको अस्तित्वलाईनै जोगाउन आधारभूत अवस्यकता भनेको शरीरको पानी र electrolyte हरुलाई बाहिर जान नदिनु र शरीर बाहिर रहेको हानिकारक जीवाणुहरुलाई शरीर भित्र पस्नबाट रोक्नु हो।

विशेष गरी ५ वर्ष मुनिका बालबालिकाको छाला ठुला मानिसको भन्दा पातलो र कम विकसित भएकोले यसले शरीर को पानीलाई बाहिर निस्किनबाट प्रभावकारी ढंगले रोक्न र शरीरलाई बाहिरी संक्रमणबाट जोगाउन सक्दैन । यसले गर्दा छाला छिटो सुक्खा हुने र एलर्जी तथा संक्रमण हुने सम्भावना धेरै देखिन्छ । बालबालिकाको तौल को अनुपातमा शरीरको छेत्रफल ठुलो हुने हुदा छालामा प्रयोग हुने मलम र घामको दुस्प्रवाबको जोखिम पनि धेरै हुन्छ ।

नवजात शिशुको छालाको ph scale को मात्रा ठुलो मानिसको भन्दा धेरै हुन्छ, जसले उनीहरुको छालालाई बाहिरी संक्रमणबाट जोगाउन सक्दैन्न। जाडो महिनामा बाक्लो कपडाहरुले शरीर ढाकेर राख्दा बालबालिकामा छालाको समस्या धेरै नदेखेपनि पछि गर्मिमा भने कपडा कम लगाउदा यस्ता समस्याहरु धेरै गर्दछ। तसैले गर्मी महिनामा बालबालिकाको छालालाई तल दिएको उपायद्वारा बचाउन र हेरचाह गर्न सकिन्छ।

सरसफाई

सफा छालानै स्वस्थ सुन्दर छाला तथा स्वस्थ शारीर को आधार हो। तसर्थ बालबालिकाको शरीर मनतातो पानी ले गर्मि याममा २ पटक सम्म सफा गर्नु जरुरि छ। यसले छालामा भएको फोहोर अत्यधिक चिल्लो पना पसिना साथै  सुष्म जीवाणुहरुलाई पखाली सफा र स्वस्थ राख्दछ। हाम्रो हात पनि धेरै संक्रमणको मुख्य माध्यम हो, त्यसैले पटक पटक साबुन पानीले हात धुने बानी बसाल्नु पर्छ ।

छाला सुक्खा हुन नदिने

नुहाउदा साबुनको प्रयोगले छालामा भएको चिल्लो पदार्थ हटाउछ र छाला अत्यधिक सुक्खा हुने सम्बावना हुदा बच्चाहरुलाई नुहाउने बित्तिकै छालामा ceramides जस्ता त्वत्व भएको moisturizing  क्रीम प्रयोग गर्न आवश्यक छ। यसले उनीहरुको छालामा रक्षा कवचको काम गरी विविन्न समस्याबाट जोगाउछ ।

शरीरको कुना भागहरु सुक्खा राख्ने

नुहाएपछि बच्चाहरुको काछ, काप काखी जस्ता पसिना तथा पानी जमेर बसिरहने भागहरुमा कपडाले सुक्खा गरी  antifungal पाउडर प्रयोग गर्न जरुरि छ जसले यी भागहरु सुक्खा राखी दादहरुको समस्या हुन दिदैन।

खुल्ला हल्का रंगको सुद्ध सूती कपडाको प्रयोग

कसिलो गाडा रंगको वा नाईलन जस्ता कपडाको प्रयोगले शरीरमा हावाको संचार हुन दिदैन, पसिना सोस्न सक्दैन जसले गर्दा शारीरको तापक्रम बढाई अत्यधिक पसिना र तातोले गुम्सिदा घमौरा र दादको संक्रमण सम्भावना धेरै हुन्छ। त्यसैले बच्चाहरुलाई गर्मी मौसममा खुकुलो हल्का रंगको शुद्ध सूतीको कपडा प्रयोग गर्न आवश्यक छ।

बाहिर जादा सुरक्षाका  उपायहरु अपनाएर मात्र बाहिर जाने

दुई वर्ष मुनिका बालबालिका हरुको छाला निकै अविकसित भएको हुदा छिट्टै समस्या आउने सम्भावना हुन्छ तसर्थ घर बाहिरको बातावरणसंग सकेसम्म कम सम्पर्क ल्याउनु राम्रो हुन्छ ।  २ वर्ष माथिका बालबालिकालाई घर बाहिर निस्किदा calamine lotion तथा spf-30 भएको sunscreen विशेषगरी physical sunscreen र अरु सुरक्षा उपायहरु जस्तै पुरा लुगा, छाता, टोपी, घाम बाट बच्ने चस्मा प्रयोग गरेर मात्र बाहिर निकाल्नु उपयुक्त हुन्छ, नत्र पछि गएर छालामा कालो, सेतो दाग धब्बा तथा छालाको क्यानसर सम्म हुने सम्भावना बढ्छ। घरमा सुत्दा झुल र बाहिर चौर, झार-जंगलतिर खेल्न जादा पुरा कपडा वा किरा प्रतिरोधक क्रिमको प्रयोग गर्नु पर्छ जसले गर्दा तिनीहरुको टोकाईबाट हुने विविन्न रोगबाट जस्तै डेंगू, औलो आदिबाट बचाउछ सकिन्छ ।

पानी धेरै मात्रमा खाने

गर्मी महिनामा पसिना धेरै आउने हुदा छाला सुक्खा हुने गर्दछ, त्यसबाट हुने प्रतिकुल असर जस्तै एलर्जी संक्रमण तथा चाउरिपन जस्ता समस्याहरु बच्चामा देखा पर्न सक्छ। त्यसैले यस्ता समस्या बाट बच्न दिनमा ८-१० गिलास पानी, फलफूलको रस, तरकारी तथा गेडागुडी को झोल खान दिनु पर्छ।  चिया, कफी, कोक, फ्यान्टा जस्ता पिए पदार्थ दिनु हुदैन।

पोषणयुक्त सन्तुलित आहार खान दिने

चकलेट, आइसक्रिम, केक, चिप्स, कृतिम जुस जस्ता खानेकुराले बालबालिकाको समग्र विकास राम्ररी हुन पाउदैन। त्यसैले पोषणयुक्त तथा सन्तुलित आहार जस्तै हरियो सागपात, मौसमी तरकारी, फलफुल, अन्डा, गेडागुडी, मासु, माछा राम्ररी पकाएर खान दिनु पर्छ। यसले शरीरको र छालाको सन्तुलित विकास गर्न मद्दत पुग्छ।

शारीरिक व्यायाम

अहिले बच्चाहरु आधुनिक खेल सामग्री जस्तै विडियो-गेम, कम्पुटर, मोबाइल, आइप्याडमा ब्यस्त देखिन्छन, जसले गर्दा उनीहरुमा पछि गएर आँखा, मस्तिक र शारीरिक समस्या हुने सम्भावना धेरै हुन्छ। बच्चालाई खेलकुद तथा शारीरिक व्यायामको उत्तिकै जरुरी छ जसले गर्दा शरीर तथा छालामा रक्त-संचार राम्ररी हुन्छ र स्वस्थ हुन्छ।

सामान्य अवस्था बाहेक केहि जटिल छालाको समस्या देखा परेमा तुरुन्त आफ्नो नजिकको छाला रोग विशेषज्ञ संग सम्पर्क राक्नु पर्छ जसले गर्दा छालामा पछि  हुने प्रतिकुल  असरबाट जोगिन सकिन्छ।